Nepalअर्थ / वाणिज्यदेशराजनीतिशीर्ष समाचारसंसारस्थानीय समाचार

बैतडी: स्थानीय तहमा खर्चमा अनियमितता, २ अर्ब १६ करोड बेरुजु सार्वजनिक

२ अर्ब १६ करोड बेरुजु सार्वजनिक

बैतडी ३० भदौ: स्थानीय तहका जनप्रतिनिधिहरूले सीमित स्रोत र साधनलाई ख्याल नगरी खर्च गर्दा बैतडी जिल्लाका १० स्थानीय तहमा २ अर्ब १६ करोड ८ लाख ४६ हजार रुपियाँभन्दा बढी बेरुजु देखिएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार, गाउँपालिका र नगरपालिकाहरूले बजेटको ठुलो हिस्सा पदाधिकारीको सेवा सुविधा, भ्रमण, इन्धन, खाना तथा कर्मचारी भर्ना जस्ता अनुत्पादक क्षेत्रमा खर्च गरेका छन्। यसले विकास निर्माणमा बजेट अभाव हुँदा उत्पादनमा ह्रास आई बेरोजगारी, बसाइँसराइ र खाद्य संकट जस्ता समस्या बढिरहेका छन्।

डिलासैनी गाउँपालिकामा ३९ करोड बेरुजु

बिकट मानिएको डिलासैनी गाउँपालिकाको आन्तरिक आम्दानी १९ लाख ६१ हजार ३६१ रुपियाँ रहेको छ। तर, पालिकाले आ.ब. २०७९/०८० मा पदाधिकारी सुविधामा मात्र ६५ लाख ७१ हजार पाँच सय रुपियाँ खर्च गरेको छ, जुन आन्तरिक आयको ३३५ प्रतिशत हुन आउँछ। डिलासैनीको अद्यावधिक बेरुजु ३९ करोडभन्दा बढी पुगेको छ। यस गाउँपालिकाले आफ्नो कुल बजेटको ८८.७ प्रतिशत चालु खर्चमा सकाएको छ, जसले विकास निर्माणमा न्यून बजेट छुट्याइँदा उत्पादनमा ह्रास आएको छ र युवाहरू विदेश पलायन भएका छन्।

सिगास गाउँपालिकामा २१ करोड बेरुजु

सिगास गाउँपालिकाको आन्तरिक आम्दानी ३४ लाख ९० हजार ३७४ रहेको छ। पदाधिकारीहरूको सुविधा खर्च वार्षिक ९२ लाख १६ हजार पाँच सय रहेको छ, जुन आन्तरिक आयको २६४ प्रतिशत हो। सिगासले आफ्नो बजेटको ८८.९७ प्रतिशत रकम प्रशासनिक खर्चमा लगाएको छ, जसले गर्दा यहाँको अद्यावधिक बेरुजु २१ करोड ११ लाख २३ हजार पुगेको छ।

दशरथचन्द नगरपालिकामा ४१ करोड बेरुजु

सुगम मानिएको जिल्ला सदरमुकामको दशरथचन्द नगरपालिकामा बेरुजुको समस्या डरलाग्दो रूपमा देखिएको छ। नगरपालिकाको आन्तरिक आम्दानी १ करोड ३५ लाख १५ हजार ३७२ रुपियाँ रहेको छ, जबकि पदाधिकारी सुविधामा मात्र १ करोड १२ लाख ६० हजार पाँच सय रुपियाँ खर्च गरिएको छ। यहाँको अद्यावधिक बेरुजु ४१ करोड ७२ लाख ४५ हजार पुगेको छ। कुल बजेटको ७२.९० प्रतिशत चालु खर्चमा र केवल २७.१० प्रतिशत रकम विकास निर्माणमा खर्च गरिएको छ।

पाटन नगरपालिकामा १६ करोड बेरुजु

पाटन नगरपालिकाले पनि कुल बजेटको ठुलो हिस्सा पदाधिकारी सुविधामा खर्च गरेको छ। नगरपालिकाको आन्तरिक आय ६७ लाख ५९ हजार ४९५ भए पनि पदाधिकारी सुविधामा मात्र १ करोड २६ लाख पाँच हजार नौ सय खर्च गरिएको छ। पाटनको अद्यावधिक बेरुजु १६ करोड दुई लाख १६ हजार पुगेको छ।

अन्य गाउँपालिका र नगरपालिकामा पनि गम्भीर स्थिति

मेलौली नगरपालिकाको अद्यावधिक बेरुजु २१ करोड, शिवनाथ गाउँपालिकामा १४ करोड ६१ लाख, पञ्चेश्वर गाउँपालिकामा २२ करोड, दोगडाकेदार गाउँपालिकामा १८ करोड, पुर्चौडी नगरपालिकामा १७ करोड र सुर्नया गाउँपालिकामा २१ करोड भन्दा बढी बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले सार्वजनिक गरेको छ। यी स्थानीय तहहरूले आन्तरिक आम्दानीभन्दा बढी रकम पदाधिकारी सुविधामा खर्च गर्दा विकास निर्माणको बजेट घटेको छ, जसको कारण गाउँ तथा नगरहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको छ।

नीतिगत सुधारको माग

स्थानीय तहहरूमा देखिएको बेरुजुको यो स्थिति अत्यन्तै गम्भीर भएको सरोकारवालाहरूले बताएका छन्। उनीहरूले आर्थिक श्रोतहरूको सही प्रयोग गर्दै विकास निर्माणमा प्राथमिकता दिनु पर्नेमा जोड दिएका छन्। साथै, स्थानीय तहहरूले आन्तरिक आय बढाउने उपायहरू अवलम्बन गर्दै उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने आवाज उठिरहेको छ।

स्रोत: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!