मनसुनी वायुको प्रभाव: सुदूरपश्चिममा पूर्णतया बदली, गण्डकी र लुम्बिनीमा भारी वर्षा र चट्याङको सम्भावना
भारी वर्षा र चट्याङको सम्भावना
काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जानकारी दिएको छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली छ। कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज राति सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम र अन्य प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबताससहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना पनि छ।
विभागले बुधबार अपराह्न विशेष मौसम बुलेटिन जारी गर्दै आज साँझदेखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहने र अन्य प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ।