अब म पनि ‘बोक्सी’ बनाइएछु। नेपाल प्रहरीले मलाई बोक्सी बनायो। अनुसन्धान विभाग (CIB) ले मलाई बोक्सी घोषणा गरिदेओस्।
हरेक गाउँमा बोक्सी आरोपमा अधिकांश विधवा महिलाहरू पर्छन्। आँखा मरेका महिलालाई सुरुमा कसैको घरको भान्सासम्म पुग्न दिइँदैन। तिनीहरूको उपस्थितिमा बच्चाहरूले खाना खान पाउँदैनन्। जब कोही विधवा हुन्छिन्, उनको एक्लोपन, असहयोग, पक्षपात, र कु दृष्टिको शिकार हुन्छिन्। जब उनीहरूका आँखा रुँदै, कोषहरू कालो हुँदै जान्छन्, त्यति नै समयदेखि उनीहरूलाई ‘बोक्सी’ भन्न थालिन्छ।
त्यस्ता महिलाहरू जो जोडी र परिवार नभएका कारण गाउँमा धेरै हिँड्छन्। उनीहरू अरूसँग बस्न, गफ गर्न, पीडा पोख्न, र सहयोग माग्न मन लाग्छ। तर, ती महिलाहरूलाई राम्रो खान र राम्रो लगाउन पाइँदैन। अरूले मीठो खाएको देख्दा उनीहरूलाई र्याल आउँछ, थुक निल्छिन्, र त्यसैले “चोखे लाग्यो” भन्ने आरोप लाग्छ।
बिरामी त संसारको सबै घरमा पर्छन्। तर, ती महिलाहरू पुगेको समयमा कसैका बच्चा वा अरू बिरामी भए भने उनीहरूलाई बोक्सीको आरोप लगाइन्छ, कुटिन्छ, मारिन्छ, र अपमान गरिन्छ।
मेरा आँखाहरू पनि यस्तै संकेत गरिरहेका छन्। कहिल्यै देख्नुभएको छ, धनी र सम्पन्नलाई बोक्सी बनाएको? उनीहरू हँसिला र खुशी देखिन्छन्। मलाई बोक्सी बनाउने मुख्य दोषी नेपाल प्रहरीका दुई कार्यालय हुन्, जसले धनी अपराधीहरूको एजेन्ट भएर मलाई मुद्दा चलाइरहेछन् र चरम अन्याय गरिरहेका छन्। म आफैँ पीडित हुँ, मेरो पति र पैसाको अभाव छ। मैले धनीका तुलनामा चिया खुवाउन सकिनँ, न त मरेका आँखाका कारण मुसुक्क हाँस्न नै सकिनँ।
प्रहरीले मेरो जाहेरी लुकाइरहेको छ र ‘प्रमाण पुगेन’, ‘फेसबुकले अनुमति दिएन’, ‘हाकिम जोडिने भएकाले अप्ठ्यारो भयो’ जस्ता झुटा जवाफ दिइरहेको छ। हाकिम निर्दोष भए सफाइ पाऊन्, दोषी भए दण्डित हुनुपर्छ। धनी अपराधीलाई बचाउन प्रहरीले मलाई थप अन्याय गरिरहेको छ।
म अब गृहमन्त्रालय, प्रहरी हेडक्वार्टर, र अनुसन्धान विभागमा छानबिनको माग राख्दै धर्ना बस्दैछु। मलाई अझ ठूलो दमन हुन सक्छ। तर, यदि सबैको मिलेमतो छैन भने न्याय पाउनेमा ढुक्क छु। चार धनी अपराधीलाई बचाउन सम्पूर्ण नेपाल प्रहरीको बेइज्जत गरिने हो भने गृह मन्त्रालय, हेडक्वार्टर, र अनुसन्धान विभागले यसको निगरानी र नियमन गर्नुपर्छ।
प्रहरीकै आडमा पिडकले मलाई अझ अन्याय गर्न पाएका छन्। त्यसैले म मरेर भए पनि फाइल अदालतसम्म पुर्याउने छु। जनताले विचार गर्नुपर्छ कि प्रहरी पक्षपाती क्रियाकलापलाई नियमन गर्छ कि गर्दैन।
नेपाली नारीहरूले हरेक कालमा ‘बोक्सी’ को आरोप सहनु परेको छ। अब फरक यति हो, विगतमा व्यक्तिले बनाउँथे, अहिले गणतन्त्रमा राज्यले बनाउँदैछ। जनताको प्रहरी धनीको पक्षमा होइन, सत्य र न्यायको पक्षमा हुनुपर्छ।