काठमाडौं: संसदीय सुनुवाइ समितिको सोमबारको बैठक तोकिएको समयमा बस्न सकेन र स्थगित गरिएको छ। श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन वा अस्वीकार गर्ने निर्णय लिन बोलाइएको बैठक आवश्यक सांसदहरूको अनुपस्थितिले स्थगित भएको हो।
समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरे पनि भट्टराईको स्नातक तहको शैक्षिक प्रमाणपत्र उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन। यसअघि आइतबारका लागि पनि बैठक स्थगित गरिएको थियो।
सुनुवाइ समितिमा १५ सांसदमध्ये ८ जना मात्र उपस्थित भएका कारण निर्णय लिन नसकिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्। समितिको बैठकमा १० जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने नियम छ। अब अर्को बैठक मंगलबार बिहान ९ बजे बोलाइएको छ।
गत बैठकमा समितिले भट्टराईको स्नातक तहको प्रमाणपत्र माग गरेको थियो। सरकारद्वारा भट्टराईलाई राजदूतमा सिफारिस गरेको मंगलबार ४५ दिन पूरा हुँदैछ। संसदीय सुनुवाइ समितिले ४५ दिनसम्म नाम अनुमोदन नगरे नियुक्तिका लागि बाधा नपर्ने कानुनी व्यवस्था रहेको छ।