Nepalराजनीतिशीर्ष समाचारसंसार

कोशी प्रदेशका ७ संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदै, निर्वाचन शुक्रबार

कोशी प्रदेश

विराटनगर, २७ भदौ — कोशी प्रदेशमा ७ वटा संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ। कांग्रेस र एमालेले ३–३ वटा समितिहरूको नेतृत्व बाँडेको छ भने माओवादी केन्द्रले एउटा समिति पाएको छ।

कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति, र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन्।

एमालेले उद्योग पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, र न्याय प्रशासन तथा विधायन समितिको सभापतिका लागि मनोनयन दर्ता गर्नेछ। यसका लागि होमबहादुर थापाले प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा, कमला दर्नालले न्याय प्रशासन तथा विधायन समितिमा, र रामदेव यादवले उद्योग पर्यटन तथा वातावरण समितिमा उम्मेदवारी दिनेछन्।

नेपाली कांग्रेसले सुशासन तथा योजना समिति, अर्थ समिति, र सामाजिक विकास समितिको नेतृत्व पाएको छ। सामाजिक विकास समितिको सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल, र अर्थ समितिको सभापतिमा विनोद राईले उम्मेदवारी दिने तयारी गरेका छन्।

आर्थिक समितिको सभापतिको विषयमा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने, “समितिमा चार जना उम्मेदवार छन्, त्यसमा एक जनालाई चयन गरिनेछ। दुई समितिमा टुङ्गो लागिसकेको छ, अर्थ समितिको टुङ्गो पनि लाग्नेछ।”

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको सभापतिका लागि राजन किराँतीलाई उम्मेदवार बनाउने जानकारी दिएका छन्। माओवादी केन्द्रले दुई समितिको नेतृत्वमा दाबी गरेको थियो, तर एउटा मात्रै प्राप्त भएको छ।

राप्रपाले पनि कुनै समिति नेतृत्वको लागि उम्मेदवारी नदिने बताएको छ। राप्रपा दलका नेता भक्ति सिटौलाले एक समितिको नेतृत्वको माग गरेपनि सत्तापक्षले अस्वीकार गरेको जानकारी दिएका छन्।

आज मनोनयन दर्ता गर्ने र शुक्रबार सबै समितिका सभापतिहरूको निर्वाचन गर्ने कार्यसूची छ। कोशीमा नयाँ संसद सुरु भएको २१ महिनापछि शुक्रबार समितिहरूको नेतृत्व चयन हुँदैछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!