E-PaperNepalUncategorizedदेशशीर्ष समाचारस्थानीय समाचार

बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकी कागजरहित, प्रविधिमैत्री सेवाको शुरुवात

बैतडी: पञ्चेश्वर स्वास्थ्यचौकी थप प्रविधिमैत्री बनेको छ। दुर्गम क्षेत्रमा सेवा दिँदै आएको यो स्वास्थ्य संस्था अब कागजरहित बन्ने भएको छ। स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीका अनुसार, सेवा प्रदान गर्दा आवश्यक कागजपत्रलाई इलेक्ट्रोनिक प्रणालीमा रूपान्तरण गर्न करीब डेढ लाख लागतको सफ्टवेयर खरीद गरिएको छ।

आज बसेको स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले यो निर्णय पारित गरेको हो। सफ्टवेयरको भुक्तानी वडाले पालिकाबाट स्वीकृत बजेटमार्फत गर्नेछ। स्वास्थ्य संस्थाका सबै तथ्यांक अनलाइनमै दर्ता गरिने जानकारी सार्कीले दिए।

स्वास्थ्य सेवाका लागि आउने बिरामीको अब अनलाइन दर्ता हुनेछ, जसका लागि पर्चा काट्न नपर्ने व्यवस्था गरिएको छ। नियमित खोप लगाउने बालबालिका र गर्भवती महिलाहरुलाई खोपकार्डको झन्झट हटाइएको छ। सेवाग्राहीको मोबाइलमा एसएमएस मार्फत जानकारी पठाइनेछ।

कागजरहित सेवा असोज १ देखि शुरु हुने छ। यसअघि छलफलमा सरोकारवालाहरु समेत सहभागी भएका थिए। खोप लगाएपछि बालबालिकालाई क्यु आर कोडसहितको इलेक्ट्रोनिक कार्ड उपलब्ध हुनेछ, जसलाई आवश्यक परेको अवस्थामा प्रिन्ट गर्न सकिनेछ।

यस स्वास्थ्यचौकीले ग्रामीण क्षेत्रमा अल्ट्रासाउण्ड मेसिन र सेन्सरयुक्त सीसीटीभी क्यामेरा जडान जस्ता नवीनतम प्रविधि अपनाइसकेको छ। प्रमुख सुरेश सार्कीले आफ्नो नेतृत्वमा दुई वर्षसम्म स्वास्थ्य कार्यालय बैतडीबाट सम्मान प्राप्त गरेका छन् भने प्रदेशस्तरीय गोष्ठीमा पनि सम्मानित भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!