बैतडीमा १७ वर्षीया किशोरी बेपत्ता, प्रहरीकै संलग्नतामा शंकाः स्थानीयको आक्रोश
बैतडी: पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी १७ वर्षीया किशोरी दुई दिनदेखि बेपत्ता छिन्। प्रहरीकै संलग्नतामा किशोरी बेपत्ता भएको आशंका गर्दै स्थानीय बासिन्दा र आफन्तहरूले किशोरीको अवस्था तत्काल पत्ता लगाउन माग गरेका छन्।
किशोरी बेपत्ता भएको दुई दिनसम्म पनि कुनै पत्ता नलागेको भन्दै स्थानीय आक्रोशित छन्। प्रहरी हवल्दार कृष्णराज जोशीको संलग्नतामा किशोरी बेपत्ता भएको प्रमाणहरू हुँदाहुँदै पनि अवस्था पत्ता नलाग्नु शंकाको विषय भएको पीडितका आफन्त प्रेम सिंह मंगोलाले बताएका छन्।
स्थानीयहरूले प्रहरी चौकीमै यस्ता गम्भीर घटना घट्नुले प्रहरीको औचित्यमाथि प्रश्न उठाएको भन्दै चौकीलाई सार्नुपर्ने माग गरेका छन्। पूर्व वडा अध्यक्ष दशरथ मंगोलाले सीमावर्ती क्षेत्रका बासिन्दाहरूको सुरक्षाका लागि स्थापना गरिएको प्रहरी चौकीबाटै अपराधका घटना भइरहेकाले चौकीको विकल्प खोज्नुपर्ने बताए।
‘प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर छानबिन गर्नुपर्छ, नत्र स्थानीयको धैर्यताको बाँध फुट्नेछ,’ मंगोलाले चेतावनी दिए। उनले घटनामा अन्य प्रहरी पनि संलग्न हुन सक्ने आशंका गर्दै निष्पक्ष र सशक्त अनुसन्धान हुनुपर्नेमा जोड दिए।
प्रहरी हवल्दार जोशीलाई किशोरी बेपत्ता पार्न संलग्न भएको आशंकामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। शुक्रबार बिहान करिब ४:३० बजे पानी भर्न जान्छु भन्दै घरबाट निस्किएकी किशोरी सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिएको थियो। किशोरीले बोकेको ग्यालेन प्रहरी चौकी नजिकै भेटिएको थियो।
भाग्दै गरेको अवस्थामा महाकाली पारीको भरतपट्टीमा फेला परेका जोशीलाई स्थानीयले दाम्लोले बाँधेर नियन्त्रणमा लिएका थिए। पछि जिल्ला प्रहरी कार्यालय बैतडीका निरीक्षक जनकराज ढुंगानाको नेतृत्वमा पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरी जिल्ला पुर्याएको छ।
यस घटनाले प्रहरी प्रशासनप्रति स्थानीयहरूमा गहिरो अविश्वास जन्माएको छ। किशोरीको अवस्था यथाशक्य चाँडो पत्ता लगाएर दोषीमाथि कारबाही नभए स्थानीय विरोध चर्किने संकेत दिएका छन्।