१६ वर्षीया बालिका वेपत्ता, हवल्दारमाथि अपहरणको आरोप
बैतडी, पञ्चेश्वर गाउँपालिका–२ डिम्बरघाट प्रहरीचौकीमा कार्यरत हवल्दार कृष्णराज जोशीमाथि १६ वर्षीया एक स्थानीय बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोप लागेको छ। स्थानीय बासिन्दाहरूले हवल्दार जोशीले बालिकालाई अपहरण गरी बेपत्ता पारेको दाबी गर्दै उनलाई भारततर्फ भाग्ने क्रममा पक्राउ गरी प्रहरीलाई बुझाएका छन्।
पूर्व वडा अध्यक्ष दशरथ मंगोलाका अनुसार, बालिका आज बिहान ४ बजेदेखि सम्पर्कविहीन भएकी हुन्। बालिका पानी भर्न गएको र उनको ग्यालेन प्रहरी चौकी नजिकै भेटिएको छ। स्थानीयहरूको भनाइअनुसार, हवल्दार जोशीले लामो समयदेखि ती बालिकालाई प्रेमको प्रलोभनमा पार्न खोजिरहेका थिए।
घटनाको बेला चौकीका इन्चार्ज नभएकोले हवल्दार जोशी नै चौकीको जिम्मामा थिए। स्थानीय प्रेम मंगोलाले हवल्दार जोशीलाई सहायक हवल्दार चन्द्र धामी र प्रहरी जवान बिरेन्द्र कार्कीले सहयोग गरेको आरोप लगाएका छन्।
घटनाबारे प्रारम्भिक जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बैतडीले इन्सपेक्टरको नेतृत्वमा टोली पठाएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, डिएसपी मकेन्द्र कुमार मिश्रका अनुसार, घटनाको थप अनुसन्धान जारी छ।
हवल्दार जोशीलाई नियन्त्रणमा लिएपछि आक्रोशित स्थानीय बासिन्दाहरूले निष्पक्ष छानबिन र न्यायको माग गरेका छन्।