कर्णालीका मुख्यमन्त्री कँडेल: ६० प्रतिशत विकास आयोजना ठेक्का लागिसकेका छन्
सुर्खेत : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफू नेतृत्वको सरकारले ६० प्रतिशत विकास आयोजना ठेक्का लागिसकेको जानकारी दिएका छन्।
शुक्रबार पत्रकार सम्मेलनमा उनले साढे ५ महिना अवधिमा भएका कामहरूको प्रगति विवरण प्रस्तुत गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा मन्त्रालय अन्तर्गतका कुल ३५१ आयोजनामध्ये झन्डै ६० प्रतिशत ठेक्का लगाएको बताएका हुन्। बाँकी आयोजनाहरू पनि ठेक्का प्रक्रियाको अन्तिम चरणमा पुगेको उनले स्पष्ट पारे।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकार अन्तर्गतका सबै निकायहरूले वार्षिक कार्य योजना अनुसार काम गरिरहेको बताए। उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म कुल बजेट खर्च ४.४४ प्रतिशत रहेको छ, जसमा पूँजीगत तर्फ १.७१ प्रतिशत खर्च भएको छ। यसले बजेट कार्यान्वयनमा प्रदेश सरकारको सकारात्मक सङ्केत दिएको उनले बताए।
चालु आर्थिक वर्षमा प्रदेश सभाबाट ४ वटा विधेयक पारित भएको जानकारी दिँदै मुख्यमन्त्री कँडेलले स्थानीय तहको सेवा सम्बन्धी विधेयक, कर्णाली प्रदेश लोकमार्ग विधेयक र कर्णाली प्रदेश यातायात विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी सभामा पेस गरिएको उल्लेख गरेका छन्।