दाङको भालुबाङ बजार बन्द, बालिका बलात्कारका आरोपीको गिरफ्तारीको माग
बालिका बलात्कारका आरोपीलाई पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले दाङको भालुबाङ बजार बन्द गरेका छन्। मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरिएको छ।
२४ असोजमा सशस्त्र प्रहरी बलको क्याम्प नजिक पिङ खेल्न पुगेकी ८ वर्षीया बालिका बलात्कारमा परेको घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले पीडित बालिकालाई संरक्षणमा राखेको छ, साथै १५ वर्षीया अर्की बालिकालाई पनि अनुसन्धानका लागि कार्यालयमा राखिएको छ। दुवै बालिकासँग घटनाबारे जानकारी लिइने र संकास्पद व्यक्तिहरूसँग सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी ईश्वर थापाका अनुसार, “घटनाको अनुसन्धान प्रहरीले गम्भीर रूपमा लिएको छ। सीआईबीको टोलीले पनि घटनाको अनुसन्धान गरिरहेको छ।”
तर, प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गर्न नसकेकोले स्थानीयको आक्रोश बढ्दै गएको छ। पीडित पक्षले भने, “प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दासम्म संघर्ष जारी रहनेछ” भनेर चेतावनी दिएका छन्। घटनाको सत्यतथ्य छानबिन गर्न उनीहरूले माग गरेका छन्।