E-PaperNepalदेशशीर्ष समाचारस्थानीय समाचार
करेन्ट लागेर हेटौँडामा दुई बालिकाको मृत्यु
बागमती: करेन्ट लागेर आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको छ। चिसापानीको पश्चिम दक्षिणस्थित कभर्ड हलको नजिक जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिएर नजिकैको फलामको पोलमा सर्ट हुँदा, पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो।
बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ निवासी सात वर्षीया बालिकाले सो पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए। बेहोस भएका बालिकालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा चिकित्सकले उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन्।
मृतक बालिकाहरूको नाम थर गोप्य राखिएको छ, र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताएका छन्।