गृहमन्त्री रमेश लेखकले बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण
गृहमन्त्री रमेश लेखकले बाढी र पहिरोबाट प्रभावित लाभग्राहीहरुको विवरण संकलन गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन्। आज ललितपुरको गोदावरीमा गरिएको निरीक्षणपछि उनले क्षतिको मूल्याङ्कन गर्दै तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिएका छन्।
गृहमन्त्री लेखकले भने, “सरकारले यो समस्यालाई गम्भीर रूपमा लिएको छ। सकेसम्म छिटो उद्धार र राहत सामग्री वितरण गरेर नागरिकको जीवन सहज बनाउनु हाम्रो दायित्व हो। खोजी तथा उद्धारको काम भइरहेको छ।” उनले बाढीपहिरो प्रकोपले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति पुर्याएको उल्लेख गर्दै, क्षतिको यकिन विवरण सङ्कलन गर्ने काममा सबैलाई संवेदनशील भएर कार्य गर्न आग्रह गरे।
उनले पीडित घाइतेको निःशुल्क उपचार भइरहेको र सोको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी दिएका छन्। आज बिहान सुरक्षा समितिसँगको बैठकमा राहत उद्धार र भौतिक क्षतिका विषयमा जानकारी लिइएको थियो। निरीक्षणको क्रममा गृहमन्त्रीले लेलेको आनन्दवन अस्पताल क्षेत्रको पनि अवलोकन गरे, जहाँ पहिरोका कारण ३२ वर्षदेखि कार्यरत रिसर्च टेक्निकल अफिसर विवेक सिंहको मृत्यु भएको थियो।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले गृहमन्त्रीलाई ३९ मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले घरमै पुगेर रकम उपलब्ध गराइँदै गरेको जानकारी गराए। बाँकी मृतकका परिवारलाई रकम उपलब्ध गराउने विषयमा समन्वय भइरहेको र चाँडै उपलब्ध गराइने कुरा पनि उनले बताए।
निरीक्षण कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन र स्थानीय वडाध्यक्षलगायतका अधिकारीहरू सहभागी थिए।