ललितपुर प्रहरीकी इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी, तीन जना पक्राउ
ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध ‘हनी ट्रयाप’ प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ। ललितपुर प्रहरी प्रमुख शेखर खनालका अनुसार घटनामा शाहीको संलग्नता देखिएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो।
प्रकरणमा शाहीले बलात्कारको झुटो आरोपमा फसाइ दिने धम्की दिँदै पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा सम्झौता गर्ने प्रयास गरेको आरोप लागेको छ। पीडितले प्रहरीमा उजुरी दिएपछि यो घटना बाहिर आएको हो।
यसअघि, घटनामा संलग्न रहेको आरोपमा सुनसरीको इटहरी बस्ने सुष्मा विक, ताज स्लाम र भीमादेवी थापालाई प्रहरीले पक्राउ गरिसकेको छ। अर्का आरोपी दर्शन पोखरेल भने हाल फरार छन्। अनुसन्धानबाट व्यवसायीलाई फसाउन शाही र अन्य व्यक्तिहरूबीच मिलीभगत भएको पाइएको छ।
शाही हाल फरार रहेकी छिन् र छानबिन समितिले उनलाई सोधपुछका लागि बोलाउँदा उपस्थित हुन इन्कार गरेकी थिइन्। प्रहरी स्रोतका अनुसार उनीविरुद्ध अनुसन्धान तीव्र बनाइएको छ र उनको खोजी कार्य जारी छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि गरिरहेको छ। छानबिन समितिको निष्कर्षमा यो घटना योजनाबद्ध रूपमा ‘हनी ट्रयाप’ गरी व्यक्तिलाई फसाउने र आर्थिक लाभ लिने उद्देश्यले गरिएको देखिएको छ।
प्रहरीले शाहीलाई पक्राउ गर्न सकेपछि थप विवरणहरू सार्वजनिक गरिने बताएको छ।