आईपीयूको १४९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल जेनेभा प्रस्थान
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा नेपाली संसदीय प्रतिनिधिमण्डल स्वीट्जरल्यान्डको जेनेभामा पुगिसकेको छ। १४९ औँ अन्तर-व्यवस्थापिका संघ (आईपीयू) महासभामा भाग लिनका लागि यो प्रतिनिधिमण्डल शनिबार प्रस्थान गरेको हो।
असोज २७ देखि कार्तिक १ गतेसम्म चल्ने यस महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा अध्यक्ष दाहालसँगै प्रतिनिधिसभाका सदस्यहरू सुनिता बराल र निशा डाँगी, र राष्ट्रिय सभा सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल पनि छन्।
प्रतिनिधिमण्डलमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव सीता वाग्ले काफ्ले, उपसचिव नमराज नगरकोटी, र अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा पनि सहभागी छन्।
महासभामा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, सुनिता बराल र निशा डाँगी ‘फोरम अफ योङ पार्लियामेन्टेरियन’ र ‘फोरम अफ वूमन पार्लियामेन्टेरियन’मा सहभागिता जनाउने कार्यक्रम छ।
अध्यक्ष दाहालले महासभामा विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल र अन्तर-व्यवस्थापिका संघका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि राखेका छन्।
प्रतिनिधिमण्डल कार्तिक ३ गते स्वदेश फर्कने कार्यक्रम छ।