कास्की जिल्ला अदालतमा सुरक्षा व्यवस्था कडा, रवि लामिछानेको उपस्थिति अघि प्रहरीको तैनाथी
रास्वपा सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराउनु अघि पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्र बैंक चोकदेखि शहीद चोकसम्म सशस्त्र र नेपाल प्रहरीको ठूलो संख्यामा टोली तैनाथ गरिएको छ।
रविको पक्ष र विपक्षमा प्रदर्शन हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीको तैनाथी वृद्धि गरिएको हो। रास्वपाले आफ्ना नेता र कार्यकर्तालाई विरोध प्रदर्शनमा उपस्थित हुन आह्वान गर्दै राजनीतिक प्रतिशोधको आरोप लगाएको छ। त्यस्तै, सहकारी पीडितहरूले पनि निश्पक्ष छानबिनको लागि दबाब दिनका लागि प्रदर्शनमा उपस्थित हुने आह्वान गरेका छन्।
राष्ट्र बैंक चोकमा सहकारी पीडित र शहीद चोकमा रास्वपा समर्थकहरू भेला हुने गरेका छन्। यी दुई चोक बीचको दुरी करिब १०० मिटर मात्र रहेकोले, प्रहरी दुवै पक्षलाई आमने-सामने हुनबाट रोक्न विशेष ध्यान दिन खटिएका छन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सुरक्षा चुनौती नबढोस् भनेर विशेष ध्यान दिइएको जानकारी दिएका छन्।