स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा चोकमा स्कुटर दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, शनिबार राति बाढीले भत्काएको कल्भर्डमा अनियन्त्रित भएर स्कुटर खसेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार, घाइते भुवनलाई महाकाली अस्पतालमा उपचारका लागि लगिएकोमा राति साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
स्कुटर चालक खेमराज घाइते रहेका छन् र उनी अहिले धनगढीको निसर्ग अस्पतालमा उपचार गराइरहेका छन्। प्रहरीले चालकले मापसे सेवन गरेको पाइएको बताएको छ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडा चोकको कल्भर्ड असार तेस्रो साता आएको बाढीले भत्किएको थियो। त्यस क्षेत्रको कल्भर्ड हालसम्म बनिसकेको छैन र सवारी साधनलाई नजिकै डाइभर्ट गरेर आवागमन गराइँदै आएको छ।
प्रहरीका अनुसार, स्कुटर राजमार्गबाट सीधै कल्भर्डमा हुत्तिएर दुर्घटना भएको हो।