E-PaperNepalदेशशीर्ष समाचारस्थानीय समाचार

बैतडी–दार्चुला सडक खण्ड बन्द, पहिरो पन्छाउने काम सोमबारदेखि सुरू

बैतडी र दार्चुलालाई जोड्ने दशरथचन्द राजमार्ग आइतबार बेलुकीदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। बैतडीको पाटन नगरपालिका–४ स्थित जेउडेमा सडक कटिङको क्रममा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

सडक डिभिजन कार्यालय पाटनका प्रमुख लक्ष्मणदत्त जोशीका अनुसार मोड सुधारका लागि भइरहेको कटिङका क्रममा माथिबाट खसेको पहिरोले सडक पूरै बन्द भएको छ। पहिरोको जोखिम अझै कायमै रहेको र रातिको समयमा पहिरो पन्छाउन असम्भव भएको उनले बताए। “माटो खस्ने क्रम जारी छ, राति काम गर्दा थप जोखिम हुनसक्छ। पहिरो पन्छाउने काम सोमबार बिहानैबाट सुरु गरिनेछ,” जोशीले भने।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी आवश्यक व्यवस्थापनका लागि टोली खटाइएको जानकारी दिए। तराई र पहाडतर्फ जाने सवारीसाधन र यात्रुहरूलाई स्थानीय बजार क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको छ। दार्चुला र बैतडीबाट छुटेका सवारी साधनका यात्रुहरूलाई सत्बाझ बजारमा र तराईबाट आएका सवारी साधनका यात्रुहरूलाई पाटन बजारमा बस्न अनुरोध गरिएको छ।

सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधनहरू रोकिएका छन्। यात्रुहरूका लागि आवश्यक व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटन सक्रिय छन्। मोड सुधारको काम गर्दै आएको केशर कन्ट्रक्सनका कारण पहिरो खसेको र उक्त क्षेत्रमा काम गर्न अझै जोखिम रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

यात्रुहरूले समस्या भोगिरहेका बेला पहिरो पन्छाउन प्राविधिक र सुरक्षा टोली सोमबार बिहानदेखि खटिने तयारीमा छन्। अहिले दशरथचन्द राजमार्ग पुनः सञ्चालनमा आउन केही समय लाग्ने अनुमान गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!