सुदूरपश्चिममा डेढ महिनामा ३९७ जना जुवाडे पक्राउ, २९ लाख रुपैयाँ बरामद
सुदूरपश्चिम प्रदेशमा असोज १ गतेदेखि कार्तिक २० गतेसम्म चलाइएको विशेष सुरक्षा अभियानअन्तर्गत ३९७ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। यस अवधिमा प्रहरीले तिनीहरूको साथबाट २९ लाख ७ हजार २ सय ५४ रुपैयाँ बरामद गरेको छ।
प्रहरीका अनुसार, सुदूरपश्चिमका ६ जिल्लामा जुवातास खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो। यसमा सबैभन्दा बढी कैलाली जिल्लामा १८४ जना तास खेलिरहेका अवस्थामा पक्राउ परेका छन्। त्यसपछि कञ्चनपुर, अछाम, डडेल्धुरा, डोटी र बझाङ जिल्लामा पनि जुवाटास खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरिएको छ।
बरामद रकमका अनुसार, कैलालीबाट ११ लाख ९ हजार ९ सय ८ रुपैयाँ, कञ्चनपुरबाट ११ लाख ९० हजार ४ सय ५२ रुपैयाँ, अछामबाट ८६ हजार ८५ रुपैयाँ, डडेल्धुराबाट ४ लाख ४१ हजार ८ सय ६९ रुपैयाँ, डोटीबाट १२ हजार ८ सय १० रुपैयाँ र बझाङबाट ६६ हजार १ सय ३० रुपैयाँ बरामद गरिएको छ।
प्रहरीले जुवातासमा संलग्न भएका व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरी कारबाही अघि बढाएको जनाएको छ।