सुदूरपश्चिमको प्रसिद्ध शिवनाथ देवालय मेला कार्तिक २३ र २४ मा हुँदै
बैतडीको शिवनाथ देवालयमा लाग्ने वार्षिक मेला (शिवनाथकी जात) यही कार्तिक २३ गते राति (रतेडी) र २४ गते दिनमा (दिउसेडी) सञ्चालन हुने भएको छ। मेला व्यवस्थापन समिति अध्यक्ष वीरेंद्र सिंह कार्कीले जानकारी दिनुभएको छ।
शिवनाथ गाउँपालिका-०६ शिवनाथ धुरामा रहेको यो प्रसिद्ध शक्तिपीठमा हरेक वर्ष कार्तिक सप्तमी र अष्टमीका दिन विशेष मेला लाग्ने गर्छ। तल्लो स्वराड क्षेत्रका तीन पालिका—मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाट देवता (देउराहरु) आउने प्रचलन छ। पाटन नगरपालिका, दशरथचन्द नगरपालिका लगायतका अन्य ठाउँका भक्तजन पनि दर्शन गर्न आउने गरेका छन्।
शिवनाथ देवालयमा पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। यहाँ असोज र चैतको नवरात्रा, असारको अषाढी जात र साउनमा विशेष पूजा हुँदै आएको छ। शिवनाथ गाउँपालिका-०५ कफाडीबाट सामूहिक रुपमा देउरोसंगै छालाबाट बनाइएको भकुण्डो (गिर) खेल्न ल्याइने परम्परा छ, जसलाई स्थानिय भाषामा ‘गिर’ भनिन्छ। यो भकुण्डो उदयदेव देवताको पूजा अर्चनामा विशेष मानिन्छ।
मेलामा भारतबाट समेत व्यापारीहरु सहभागी हुने गरेका छन्। मेला व्यवस्थापन समितिले मेलालाई सभ्य र सुरक्षित बनाउन आग्रह गरेको छ भने मदिरा सेवन, अवैध गतिविधि, जुवा–तास खेल्न प्रतिवन्ध लगाएको छ।
स्थानीय जनजीवन झल्कने दृश्य, लोपोन्मुख संस्कृति, आपसी भेटघाट र स्थानिय उत्पादनको प्रवर्द्धनका लागि यो मेला महत्वपूर्ण मानिन्छ। मेलाको दिन कार्तिक २३ गते स्थानीय सरकारले सार्वजनिक बिदा दिएको छ।