नेपालमा पुनः उपनिर्वाचनको माहोल तातेको छ। राजनीतिक दलका उम्मेदवारहरू मत माग्दै जनताका घरदैलोमा पुगिरहेका छन्। तर, बारम्बार हुने यी चुनावले जनताको वास्तविक समस्या समाधान गर्न नसकेको श्रमिक समुदाय मुक्ति मोर्चा, नेपालका जाजरकोट अध्यक्ष विशाल सी बताउँछन्।
जनता विगतका चुनाव र सरकार परिवर्तनबाट थाकिसकेका छन्। बेरोजगारी, गरिबी, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत समस्या आज पनि उस्तै छन्। अध्यक्ष विशाल सी को विश्लेषणमा, दलाल पुँजीवादी संसदीय व्यवस्था देशको मुख्य विफलताको कारण हो।
देशको उत्पादन प्रणाली खस्कँदै गएको छ। वैदेशिक रोजगारीमा भर पर्ने अर्थतन्त्रले युवालाई स्वदेशमा अवसर दिन असमर्थ छ। कृषि र उद्योगको विकास नारामा सीमित छ।
सरकारी विद्यालयहरूको स्तर दिनानुदिन कमजोर हुँदै छ। गुणस्तरीय शिक्षा पहुँच केही व्यक्तिमा मात्र सीमित छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको अभाव जस्ताको तस्तै छ, र नागरिक सामान्य उपचारका लागि विदेश जान बाध्य छन्।
जातीय विभेद, लैङ्गिक असमानता र क्षेत्रीय भेदभाव उस्तै छ।
चुनावताका देखाइने सुन्दर सपनाहरू चुनावपछाडि बिर्सने प्रचलन बारम्बार दोहोरिइरहेको छ। सरकार परिवर्तनले स्थायित्व दिन नसक्नु, भ्रष्टाचार र कमजोर नेतृत्वले जनताको विश्वास गुमाएको छ।
विशाल सी का अनुसार, जनताले रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँच, भ्रष्टाचारमुक्त शासन व्यवस्था, र समान अवसर चाहेका छन्। उनी दलाल पुँजीवादी व्यवस्थाको विकल्पका रूपमा नेपाली विशेषताको समाजवादलाई अगाडि सार्छन्। यसले श्रमिक, किसान, र उत्पीडित वर्गको पक्षमा नीतिहरू बनाउँदै समानतामा आधारित अर्थतन्त्र निर्माण गर्न सक्छ।
बारम्बारको चुनावले समस्याको समाधान नगरेपछि जनताले निराशा महसुस गरेका छन्। अब जनताले ठोस परिवर्तनको माग गर्दै, वैकल्पिक व्यवस्थाको खोजी गर्नुपर्ने समय आएको छ।