E-PaperNepalदेशशीर्ष समाचारस्थानीय समाचार

सहकारी ठगी आरोपमा रवि लामिछाने बयानका लागि भैरहवा ल्याइए, प्रदर्शनको तयारी

2024 नोभेम्बर 12– सहकारी ठगीको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज भैरहवा ल्याइएको छ। पोखराको सुर्यदर्शन सहकारीसँग जडित वचत अपचलनको आरोपमा लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका थिए। अब उनलाई बुटवल स्थित सुप्रिम सहकारीसँगको वचत अपचलनको थप अनुसन्धान गर्न भैरहवा ल्याइएको हो।

लामिछानेलाई बिहान ५ बजे पोखरा एयरपोर्टमा ल्याइएपछि, मौसमको खराबीका कारण जहाज उड्न नसक्दा केही समय ढिलाइ भएको थियो। मौसममा सुधार आएपछि, बुद्ध एयरमार्फत लामिछानेलाई भैरहवा ल्याइएको हो। उनलाई जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयानका लागि पठाइएको छ।

लामिछानेलाई बयानका लागि ल्याएपछि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र यसको वरपर नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। साथै, सरकारी वकिलको कार्यालय र अदालत क्षेत्रका केही स्थानहरूमा व्यारिगेड लगाएर बन्द गरिएको छ।

रवि लामिछाने र उनका सहकर्मीहरूलाई बुटवलस्थित सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ अपचलन गरेको आरोप लगाइएको छ। उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरिएको बताइएको छ। लामिछानेको नाममा उक्त सहकारीबाट १ करोड ९६ लाख रुपैयाँको ऋण पनि लिइएको थियो, जसको प्रक्रिया र उद्देश्यबारे प्रश्न उठेको छ। लामिछानेले भने आफूले कुनै ऋण नलिएको र निवेदन नदिएको दाबी गर्दै आएका छन्।

रवी लामिछानेलाई भैरहवा ल्याएपछि रास्वपा र सुप्रिम सहकारीका पीडितहरूले छुट्टाछुट्टै प्रदर्शन गर्ने घोषणा गरेका छन्। रास्वपाले बिहान ११ बजे लुम्बिनी गेटमा भेला भएर जिल्ला प्रहरी कार्यालय नजिक सभा गर्ने तयारी गरेको छ। यता, सहकारी पीडित संघर्ष समितिले सरकारी वकिलको कार्यालय अगाडि प्रदर्शन गर्दै पीडितको बचत फिर्ता माग गर्नेछ। उनीहरूको मुख्य माग भनेको सहकारी ठगीका आरोपीलाई कडा सजाय दिइनु र पीडितलाई न्याय प्राप्त गर्नु हो।

रास्वपाका रुपन्देही सभापति डा. बुद्धिप्रसाद शर्माले भने, “हामीले प्रदर्शनलाई शान्तिपूर्ण र मर्यादित राख्न आचारसंहिता लागू गरेका छौँ। हाम्रो उद्देश्य भनेको न्याय प्राप्त गर्नु हो।” सहकारी पीडित संघर्ष समितिका चिना थापाले पनि आफ्नो बचत फिर्ता पाउनुपर्ने र आरोपीलाई कठोर सजाय दिइनुपर्ने माग राखे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!