चौरजहारी नगरपालिकाले लगातार दोस्रो वर्ष लक्ष्यभन्दा बढी राजश्व संकलनमा सफलता हासिल गर्यो
पश्चिम रुकुमको चौरजहारी नगरपालिकाले लगातार दोस्रो वर्ष आफ्नो लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ।
प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार, आर्थिक वर्ष २०७९/८० मा २ करोड २२ लाख रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा २ करोड ३२ लाख ७४६ रुपैयाँ संकलन भएको थियो। यसरी आर्थिक वर्ष २०८०/८१ मा २ करोड ४२ लाख रुपैयाँको लक्ष्य राखिएकोमा ३ करोड ८ लाख रुपैयाँ संकलन भएको छ।
तर आर्थिक वर्ष २०७८/७९ मा भने लक्ष्यभन्दा कम मात्रामा राजश्व संकलन भएको थियो। सो वर्ष २ करोड १५ लाख रुपैयाँको लक्ष्य राखिएकोमा १ करोड ८० लाख रुपैयाँ मात्र संकलन भएको थियो।
ढकालले बताए अनुसार, राजश्व चुहावट पहिचान, निगरानी, र सुधार योजनाहरूको कार्यान्वयनमा जोड दिइयो।
उनका अनुसार, “राजश्व संकलनमा जिम्मेवारी तोकेर मातहतका निकाय र कर्मचारीहरूलाई जिम्मेवार बनाउँदै नियमित अनुगमन र एकमुष्ट प्रगतिको आधारमा जनप्रतिनिधि र कर्मचारीलाई नगरसभामा पुरस्कारसहित सम्मानित गर्ने वातावरणले पनि लक्ष्यभन्दा बढी राजश्व संकलनमा सहयोग पुग्यो।”
यसरी आर्थिक वर्ष २०७९/८० को तुलनामा ५१ लाख ५५ हजार ५८३ रुपैयाँ थप संकलन गर्न सफल भएको चौरजहारी नगरपालिकाले २ करोड ८० लाख ३० हजार १३१ रुपैयाँको संकलन गरेको थियो।
त्यसैगरी, नगरपालिकाले प्रदेश सरकारको विभाज्य कोषमा ४८ लाख २९ हजार ३८५ रुपैयाँ जम्मा गरेको छ। यसमा ४० लाख रुपैयाँ बुझाउने लक्ष्य राखिएको थियो।
नदीजन्य पदार्थ उत्खननबाट संकलन भएको राजश्वको ४० प्रतिशत रकम विभाज्य कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेको छ।
यस उपलब्धिले चौरजहारी नगरपालिकाको प्रशासनिक क्षमता र व्यवस्थापनमा सफलता देखाएको छ।