लुम्बिनी लायन्स एनपीएलको प्लेअफ होडबाट बाहिरियो, काठमाडौं गुर्खाजको १८ रनको जित
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ होडबाट बाहिरिएको छ। बुधबार काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनीले लिग चरणको यात्रा समाप्त गरेको हो।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अलआउट भयो।
काठमाडौंका कप्तान करण केसीले घातक बलिङ गर्दै ४ ओभरमा १६ रन दिएर ४ विकेट लिए। दिपेश कँडेलले ४ ओभरमा मात्र ६ रन खर्चेर ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। जेरार्ड एरासमसले २ विकेट लिए भने रासिद खानले १ विकेट हात पारे।
लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। उन्मुक्त चन्दले १४ रन र सूर्य तामाङले अविजित ११ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको थियो। भिम सार्कीले सर्वाधिक ३१ रन बनाए। डान डौथवेटले २१ र प्रतिक श्रेष्ठले २० रन बनाए।
लुम्बिनीका बलर साद विन जफरले ३ विकेट लिए। रामोन सिमोण्ड्स र अभिशेष गौतमले २–२ विकेट झारे भने सूर्य तामाङ र विवेक यादवले समान १ विकेट लिए।
लुम्बिनीले लिग चरणमा खेलेका ६ मध्ये ५ खेलमा हार बेहोरेको छ भने केवल १ खेल जित्न सफल भयो। यो हारसँगै लुम्बिनी प्लेअफको होडबाट बाहिरिएको छ।
काठमाडौंले यो जितसँगै ४ खेलमा २ जित दर्ता गर्दै ४ अंक जोडेको छ। अब टोलीले प्लेअफ प्रवेशका लागि सम्भावना कायम राखेको छ।