नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा असन्तुष्टि र महाधिवेशनको विषयमा चासो
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टीभित्रको असन्तुष्टि माथिल्लो तहका कारणले उत्पन्न भएको बताएका छन्। आइतबार केन्द्रीय समितिको बैठकमा बोल्ने नेताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि १८० जनाले बोल्ने नाम टिपेका थिए, जसमा सोमबार ८० जनाले धारणा राखे।
बैठकमा केन्द्रीय सदस्यहरूले भने पार्टीका समस्याहरू पदाधिकारी स्तरमै केन्द्रित भएको र प्रमुख समस्या त्यहीँ रहेको बताएका छन्। केन्द्रीय सदस्य शिवराम यादवले भने, “पार्टीमा समस्या भए पदाधिकारीहरूमै भएको हो”, भनेका छन्। यस क्रममा उनले मन्त्री भएका व्यक्तिहरूको महत्वकांक्षामा वृद्धि र असन्तुष्टि बढेको कुरा पनि उठाए।
अध्यक्ष प्रचण्डले उठेका प्रश्नहरूको जवाफ बुधबार दिने बताएका छन्। बैठकको समापनपछि आगामी कार्य योजना र कार्य विभाजनसँग सम्बन्धित निर्णयहरू पनि गरिनेछ।
यसै क्रममा नेताहरूले विशेष महाधिवेशनको विषयमा पनि छलफल गरेका छन्। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पार्टीमा सक्रियताको विषय पनि उठेको छ। केन्द्रीय सदस्य सुदन किराती लगायत ७ जनाले उपराष्ट्रपतिको सक्रियता बारे चासो राखेका छन्।
नेताहरूका बीचमा महाधिवेशनका बारेमा दुई विकल्प प्रस्तुत भएका छन्। पहिलो, अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाएर जान, र दोस्रो, ६ महिना विभिन्न अभियान चलाएर महाधिवेशनका लागि तयारी गर्नु।
अध्यक्ष प्रचण्डले भनेका थिए, “अहिले नै महाधिवेशन आयोजक समिति बनाएर जान पनि कुनै समस्या छैन, ६ महिना विभिन्न अभियान चलाऔं र जनतामा एक खालको ऊर्जा भरेर अगाडि बढौं भन्ने मेरो अर्को प्रस्ताव छ।”
नेताहरू दुवै पक्षमा देखिएका छन्, तर अधिकांश नेताहरू अहिले अभियान चलाउनुपर्ने पक्षमा छन्।