बझाङमा एसईई परीक्षा दिएर घर फर्केकी किशोरी झुन्डिएको अवस्थामा मृत फेला

बझाङ, केदारस्यूँ – बझाङको केदारस्यूँ गाउँपालिका-१ रायलकी १७ वर्षीया आकांक्षा मल्ल एसईई परीक्षा दिएर घर फर्केपछि आफ्नै कोठामा मृत फेला परेकी छन्। मंगलबार बेलुका झुन्डिएको अवस्थामा फेला परेकी मल्ल साहित्यकार र शिक्षक पूर्ण मल्लकी छोरी थिइन्।
जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी युवराज भण्डारीका अनुसार आकांक्षाले मंगलबार अनिवार्य विज्ञान विषयको परीक्षा दिएका थिए। घटनास्थलमा सुसाइड नोट भेटिएको भए पनि मृत्युको स्पष्ट कारण उल्लेख गरिएको छैन। सुसाइड नोटमा उनले आत्महत्या आफ्नै कारणले गरेको उल्लेख गरेको पाइएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा परीक्षा सम्बन्धी तनावले यो घटना हुनसक्ने आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान जारी राखिएको छ।
आकांक्षा मल्ल केदारस्यूँ गाउँपालिका-१ स्थित गर्जेपानी मावि, रायलकी विद्यार्थी थिइन्। उनका बुवा पूर्ण मल्ल बझाङी भाषा र गजल लेखनमा परिचित साहित्यकार तथा सोही विद्यालयका शिक्षक छन्।