बैतडीको विश्वनाथ वनारसी धाममा चैत १७ देखि कोटीहोम महायज्ञ सञ्चालन हुने

बैतडी, २२ मार्च – बैतडीको पाटन नगरपालिका–३ स्थित प्रसिद्ध विश्वनाथ वनारसी धाममा चैत १७ गतेदेखि कोटीहोम महायज्ञ सञ्चालन हुने भएको छ।
धामका धार्मिक प्रवक्ता पण्डित गणेशप्रसाद पन्तका अनुसार, सहस्त्रचण्डी कोटीहोम १०८ श्रीमद्भागवत महापुराण अतिरुद्राभिषेकको तयारी सुरु गरिसकिएको छ। पौराणिक मान्यता अनुसार, विश्वनाथ वनारसी धामलाई सरयु नदी (सुर्नया नदी) किनारमा अवस्थित विश्वनाथ ज्योतिर्लिङ्गका रूपमा पूजा गरिन्छ।
कोटीहोम महायज्ञमा १ हजार १ सय ११ कन्या पूजन, सवा पाँच कोटी दीप प्रज्वलन, ५ सय ५५ ब्राह्मण भोजन गराउने कार्यक्रम समावेश गरिएको पन्तले जानकारी दिए। यस्तै, ५ हजार ५ सय ५५ शालीग्रामशीला पूजन, ४ हजार ४ सय ४४ कलश पूजन, १०८ अखण्ड रामायण पाठ, गायत्री महामृत्युञ्जय पुरश्चरण, आत्ममहापुराण, विष्णु धर्मोत्तरपुराण, वाशुकीपुराण, वाराहिसंहिता, १०८ उपनिषद् र चारवेद मृदंगपाठ हरेक दिन सवालाख दीप प्रज्वलन गरेर आरती गर्ने कार्यक्रम तय गरिएको छ।
यसबाहेक, सुर्नया नदी संगममा चारपल्ट महाआरती र विविध पाठपारायणको आयोजना पनि गरिनेछ। कोटीहोम महायज्ञमा नेपालका ऐतिहासिक जगद्गुरु र संस्कृतिका जानकार र विद्वानहरूको सहभागिता रहने पन्तले बताए।
परापूर्वकालमा खपरे नामक दैत्यको संहार गरेको कारण वनारसी देवतालाई शक्तिशाली देवताको रूपमा पूज्ने परंपरा रहेको पनि उनले बताए।
कोटीहोम महायज्ञले विश्वनाथ वनारसी धामको महिमा विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यस धाममा हरेक वर्ष माघ शुक्ल पक्षको दशमी अर्थात शैल्य दशमीको दिन ठूलो जात्रा लाग्ने गर्दछ।