बैतडीमा २१ फिट अग्लो श्रीराम मूर्तिको उद्घाटन, रामनवमीमा भव्य मेला

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका-०६, पञ्ज्युनयाँ गाउँस्थित श्रीराम मन्दिरमा २१ फिट अग्लो भगवान श्रीरामको मूर्ति निर्माण कार्य पूर्ण भएको छ। हाल मन्दिरको बाह्य रङ्गरोगन र अन्य निर्माण कार्यहरू जारी रहेका छन्।
यो धार्मिक स्थलको महत्त्व स्कन्द पुराणमा पनि उल्लेख गरिएको छ। बैतडीको साविक ढीक क्षेत्र, अहिलेको दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, साथै दार्चुलाको शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकाका भक्तजनहरूको आस्थाको केन्द्रका रूपमा रहेको यो स्थानमा प्राचीन कालदेखि रामनवमीको अवसरमा भव्य मेला लाग्ने परम्परा रहेको छ।
यस वर्षको रामनवमी, २०८१ चैत २४ गते, भगवान श्रीरामको २१ फिट अग्लो मूर्तिको औपचारिक उद्घाटन गरिनेछ। उद्घाटन अवसरमा परम्परागत रूपमा ठूलो मेला लाग्नेछ, जसमा बैतडी, दार्चुला लगायत सुदूरपश्चिमका विभिन्न स्थानबाट भक्तजनहरूको सहभागीता रहनेछ।
यस धार्मिक स्थलको महत्व र उद्घाटनको अवसरमा भक्तजनहरूको आस्था र धार्मिक भावनालाई महत्व दिइएको छ, र मन्दिर निर्माण कार्यको समापन पछि यहाँका स्थानीय समुदाय र धार्मिक व्यक्तिहरूलाई ठूलो सन्तोष र गर्वको अनुभव हुनेछ।