रवि लामिछानेले सांसद पद निलम्बन फुकुवा गर्न सभामुखलाई आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो विरुद्ध राज्य नै लागेको टिप्पणी गरेका छन्। मंगलबार सभामुख देवराज घिमिरेलाई भेटेर उनले सांसद पद निलम्बन फुकुवाको माग गरेपछि पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
पत्रकारले लामिछानेलाई सभामुखले सांसद पद निलम्बन फुकुवा नगरे अदालत जाने हो भनेर सोधेका थिए। जवाफमा लामिछानेले अदालत जानु अन्तिम विकल्प भएको बताए र सभामुखलाई निलम्बन फुकुवाका लागि आग्रह गरेको जनाए।
लामिछानेले भने, “राज्य लागेपछि व्यक्तिको के लाग्दो रहेछ र!” उनले आफू पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित रहेको जानकारी पनि दिए।
यसअघि, माघ १८ गते पनि लामिछानेले सभामुखलाई भेटेर निलम्बन फुकुवाको माग गरेका थिए। सभामुखले राजनीतिक दलहरूसँग छलफल गर्ने प्रतिवद्धता जनाएका छन् भने लामिछानेले आफू संसदबाटै समाधान चाहेको बताएका छन्।
लामिछानेले आफू चितवनबाट दुई पटक निर्वाचित भएको र थुनामा नरहेको बताए।