E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कक्षा १२ को परीक्षा बहिष्कार गर्न नेपाल शिक्षक महासंघको आग्रह

काठमाडौं – नेपाल शिक्षक महासंघले आउँदो वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह गरेको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै आन्दोलनको सन्दर्भमा परीक्षा लगायत शैक्षिक गतिविधिमा संलग्न नहुन अनुरोध गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “२०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि जिम्मेवारीमा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अपील गर्दछौं।”

महासंघले चैत २० गतेदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन जारी रहेको उल्लेख गर्दै सो अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि शैक्षिक काममा संलग्न नहुन शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ।

महासंघले २०८१ माघ २० गतेदेखि नै आन्दोलनमा रहेको जनाएको छ। शैक्षिक सुधारका लागि अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन दबाब सिर्जना गर्न आन्दोलन जारी राखिएको र उक्त आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सबै शैक्षिक सरोकारवाला पक्षलाई समर्थन गर्न अनुरोध गरिएको छ।

संस्थागत विद्यालयहरूलाई पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन अनुरोध गरिएको छ। निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (एनप्याब्सन) लाई समेत विद्यालय बन्द गरेर आन्दोलनमा साथ दिन महासंघले आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!