शिक्षा ऐनको माग गर्दै गोदावरीका शिक्षक कर्मचारी आन्दोलित

कैलाली – शिक्षा ऐन निर्माण र कार्यान्वयनको माग गर्दै देशभर शिक्षक तथा विद्यालय कर्मचारीहरूले सुरु गरेको आन्दोलनमा कैलालीको गोदावरी नगरपालिकाका शिक्षकहरू पनि आन्दोलित भएका छन्। नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौंमा सुरु गरेको आन्दोलनलाई सघाउँदै गोदावरी नगरभित्रका विभिन्न विद्यालयका शिक्षक, शिक्षिका र कर्मचारीहरूले आजबाट औपचारिक रुपमा आन्दोलन थालेका छन्।
गोदावरी नगरस्तरिय आन्दोलन परिचालन उपसमितिका संयोजक ललन प्रसाद चौबेले आन्दोलन आजदेखि सुरु भएको र माग पुरा नभएसम्म निरन्तर जारी रहने जानकारी दिएका छन्। उनले भने विगतमा भएका शिक्षकहरूका माग तथा सम्झौता कार्यान्वयन गर्न, शिक्षा ऐन २०२८ लाई संशोधन गरी गणतान्त्रिक शिक्षा ऐन निर्माण गर्न र तत्काल लागू गर्न आवश्यक छ।
उनका अनुसार ऐन कानून विना शिक्षा प्रणाली व्यवस्थित हुन नसक्ने भएकाले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा अहिलेसम्म ऐन नबन्नु दुःखद पक्ष हो। देशमा धेरै संरचनागत परिवर्तन भइसकेका छन् तर शिक्षालाई वेवास्ता गरिएकाले हामी आन्दोलनमा उत्रन बाध्य भएका हौं चौबेले बताए।
आन्दोलन अन्तर्गत प्रत्येक दिन बिहान ८ बजेदेखि १० बजेसम्म प्रदर्शन हुने जनाएको छ। सरकारसँगको वार्ता र गतिविधिको मूल्यांकन गर्दै आन्दोलनका कार्यक्रमहरू परिमार्जन गरिँदै लैजाने योजना रहेको चौबेले स्पष्ट पारे। साथै तत्काल शिक्षक तथा कर्मचारी मात्रै भएपनि आगामी दिनमा अभिभावकहरूलाई समेत आन्दोलनमा सहभागी गराउने रणनीति तयार भइरहेको जानकारी उनले दिए।
केन्द्रस्तरमा प्रत्यक्ष सहभागी हुन नसकेका शिक्षक तथा कर्मचारीहरूले गोदावरीमा आन्दोलनको माध्यमबाट ऐक्यवद्धता जनाइरहेका छन्। चौबेका अनुसार जबसम्म सरकार शिक्षाको महत्व बुझेर ऐन निर्माण र कार्यान्वयनतर्फ अघि बढ्दैन, तबसम्म आन्दोलन रोकिने छैन।