खेलदेशशीर्ष समाचार

निर्णायक खेल रद्द नेपाल यु–१९ विश्वकपमा स्थान बनाउन असफल

काठमाडौं — नेपाल आगामी वर्ष जिम्बावे र नामिबियामा हुने आईसीसी १९ वर्षमुनिको विश्वकप खेल्न असफल भएको छ। आईसीसी यु-१९ विश्वकप एसिया छनोट अन्तर्गत शुक्रबार मुलपानीमा तय भएको नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

प्रतियोगिताको नियमअनुसार समूह विजेताले मात्र विश्वकपमा स्थान बनाउने भएकाले नेपाललाई यो खेल जित्नै पर्ने अवस्था थियो। अफगानिस्तानलाई भने बराबरीले पनि विश्वकपको टिकट मिल्थ्यो। दुर्भाग्यवश, हिजो रातिदेखि परेको निरन्तर वर्षाले मैदान भिजेपछि खेल सुरु हुन सकेन। अम्पायर र म्याच अफिसियलहरूले ३० यार्ड सर्कलभित्रको भाग खेलयोग्य भए पनि बाउन्ड्री लाइन आसपासको भाग भिजेकै कारण कम्तीमा २० ओभरको खेलसमेत सम्भव नरहेको ठहर गर्दै खेल रद्द भएको घोषणा गरे।

नेपाल र अफगानिस्तान दुवैले यसअघि खेलिएका तीनवटा खेलमा लगातार जित हात पार्दै समान अंकसहित शीर्ष स्थानमा थिए तर नेट रन रेटका आधारमा अफगानिस्तान अगाडि रहेकाले उनीहरूले विश्वकपमा स्थान बनाउन सफल भए।

यद्यपि नेपालले हालैका दिनमा अफगानिस्तानमाथि राम्रो प्रदर्शन गर्दै आएको थियो। गत वर्ष दक्षिण अफ्रिकामा भएको यु-१९ विश्वकपमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको थियो। त्यसपछि नोभेम्बरमा यूएईमा भएको एसिया कपमा समेत नेपाल विजयी भएको थियो। यद्यपि विश्वकप छनोट अघि भएको तीन खेलको मैत्रीपूर्ण शृङ्खलामा अफगानिस्तानले नेपाललाई २–१ ले हराएको थियो।

नेपालले अहिलेसम्म ८ पटक यु-१९ विश्वकप खेल्ने अवसर पाएको छ। यस पटकको छनोटमा नेपालसँगै अफगानिस्तान, ओमान, यूएई र हङकङ सहभागी थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!