दाउन्ने सडक विस्तार तीव्र वैशाख ३१ सम्म राति सवारी आवागमन बन्द

नवलपरासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा भइरहेको सडक मर्मत र विस्तार कार्यलाई तीव्रता दिनका लागि वैशाख ३१ गतेसम्म हरेक रात सवारी आवागमन पूर्ण रूपमा रोकिने भएको छ।
सवारी सञ्चालन रातको ११ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको कार्य वर्षाअघि सम्पन्न गर्न रातको समय सदुपयोग गर्दै सवारी बन्द गरिएको हो।
यसअघि चैत २७ देखि वैशाख १५ गतेसम्म पनि रातको समयमा सवारी आवागमन बन्द गरिँदै काम भइरहेको थियो। अहिले बाँकी रहेका भित्तातर्फ कटिङ लगायतका काम सम्पन्न गर्न थप १५ दिनको समय लाग्ने भएकाले यातायात बन्दको निर्णय गरिएको हो।
बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका पश्चिम खण्ड सूचना अधिकारी शशांक मिश्रका अनुसार, दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण भइरहेकाले कामलाई सुरक्षित र छिटो सम्पन्न गर्न सवारी रोकिएको हो। “यो क्षेत्र भूगर्भीय हिसाबले जोखिमयुक्त पनि भएकाले सवारी रोकेर काम गर्नुपरेको हो,” उनले भने।
यातायात बन्द रहेकै समयमा विकल्पका रूपमा पूर्वतर्फ मालवाहक सवारीलाई अरुणखोला–चोरमारा र यात्रुवाहक तथा साना सवारीलाई दुम्किबास क्षेत्रमा रोक्ने व्यवस्था गरिएको छ। पश्चिमतर्फ भने बर्दघाट र ज्यामिरे क्षेत्रमा सवारी रोकिँदै आएको छ।
गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर खण्डमा सर्भिस लेनसहितको सडक विस्तार भइरहेको छ। करिब १७ अर्ब रुपैयाँ लागतमा निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक निर्माण म्याद थप गरिसकेको छ। अहिलेको अन्तिम म्याद २०८२ साउन ८ गतेसम्म तोकिएको छ।