नारायणी नदीमा पौडी खेल्न गएका एकै परिवारका दुई बालक बेपत्ता

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१२ तमासपुरका एकै घरका दुई बालक नारायणी नदीमा बेपत्ता भएका छन्।
मंगलबार दिउँसो पौडी खेल्न गएका पाँचजनामध्ये दुई बालक—१६ वर्षीय विजय पौडेल र १२ वर्षीय पवन पौडेल—नारायणी नदीको सशलाघाट क्षेत्रमा बेपत्ता भएका हुन्। दुबै बालकहरू धनन्जय पौडेल र हरि पौडेलका छोरा हुन्, जो दुई सगा भाइ हुन्।
मध्यविन्दु नगरपालिका–१२ का वडाध्यक्ष कान्ताप्रसाद कुमालका अनुसार विजयले हालै मात्र एसईई परीक्षा दिएका थिए।
घटना मध्यविन्दु नगरपालिका–१५ को सीमा क्षेत्रमा पर्ने अरुणखोला र नारायणी नदीको संगमस्थल सशलाघाटमा भएको हो। घरबाट करिब दुई किलोमिटर टाढा रहेको उक्त स्थानमा उनीहरू दिउँसो पौडी खेल्न गएका थिए।
बालकहरू साँझ साढे ६ बजेतिर बेपत्ता भएको जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। वडाध्यक्ष कुमालका अनुसार राति १२ बजेसम्म खोजी कार्य गरिए पनि उनीहरू फेला परेनन्।
आज बिहानैदेखि पुनः खोजी कार्य थालिएको छ। प्रमुख जिल्ला अधिकारीलाई गोताखोरको व्यवस्था गर्न आग्रह गरिएको वडाध्यक्ष कुमालले बताए।
दुबै बालकका बुबाहरू रोजगारीका सिलसिलामा विदेशमा छन्।