भारतका ऊर्जा मन्त्री खट्टर दुई दिने नेपाल भ्रमणमा

काठमाडौं — भारतका ऊर्जा, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर आज बिहान दुई दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्। उनी नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका हुन्।
भ्रमणका क्रममा मन्त्री खट्टरले भारत सरकारको सहयोगमा निर्माण सम्पन्न ‘कोशी कोरिडोर’ २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा तीनवटा सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
संयुक्त उद्घाटन कार्यक्रम आजै सङ्खुवासभाको तुम्लिङटारमा आयोजना हुँदैछ। उद्घाटन गरिने सबस्टेसनहरूमा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेसन रहेका छन्।
यसका साथै, मन्त्री खट्टरले भारतको सहयोगमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको पनि निरीक्षण गर्ने कार्यक्रम छ।
यो भ्रमणले नेपाल–भारत ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।