सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहसहितको टोली भारत भ्रमणमा

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा एक उच्चस्तरीय टोली भारत भ्रमणमा निस्किएको छ। टोली आज दिउँसो १२ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको हो।
मुख्यमन्त्री शाहले नेपालमै पहिलो पटक प्रदेश सरकारको टोली भारत सरकारको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जान लागेको बताएका छन्। भ्रमण टोलीमा मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरू र सचिवालयका केही सदस्यहरू छन्।
टोलीले नयाँदिल्लीमा भारत सरकारका संघीय मन्त्रीहरूसँग भेटघाट गर्ने र विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसनसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। साथै टोलीले उत्तरप्रदेश र उत्तराखण्डका विभिन्न स्थानहरूको अवलोकन गर्नेछ।
भारत भ्रमणका क्रममा टोलीले भारतीय कृषि अनुसन्धान संस्था, अयोध्याको धार्मिक पर्यटकीय स्थल, देहरादुनका कृषि तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्नेछ। भ्रमणका दौरान उत्तराखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग पनि औपचारिक भेटघाट हुने प्रदेश सरकारले जनाएको छ।
मुख्यमन्त्री नेतृत्वको टोलीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट सहभागी छन्।
टोलीले भ्रमण सकाएपछि वैशाख २२ गते लखनउबाट स्थलमार्ग हुँदै कैलाली फर्किने कार्यक्रम तय गरिएको छ।