मुस्ताङमा ८९४ केजी अवैध शालिग्राम शीला बरामद

मुस्ताङ — मुस्ताङ प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा ओसारपोसार गरिएको शालिग्राम शीला बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, बारागुङ मुक्तिक्षेत्र–३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोस्टले चेकजाँचका क्रममा ८९४ केजी शालिग्राम बरामद गरेको हो।
घटनाबारे जानकारी दिँदै प्रहरी निरीक्षक तथा सूचना अधिकारी विशाल अधिकारीले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमीबाट जोमसोमतर्फ आउँदै गरेको ग३च ८१५२ नम्बरको बोलेरो जीपलाई शंका लागि चेकजाँच गर्दा शालिग्राम फेला परेको बताए। उक्त बोलेरोमा ३४ वटा सेतो बोरामा प्याक गरिएको शालिग्राम लुकाइ ल्याइएको थियो।
शालिग्राम ओसारपोसारमा संलग्न रहेको अभियोगमा लोघेकर दामोदरकुण्ड–५ सुर्खाङ निवासी ४१ वर्षीय कुनसाङ रेन्जिङ गुरुङलाई नियन्त्रणमा लिइएको छ। बरामद शालिग्रामसहित बोलेरो जीप, चालक र सम्बन्धित व्यक्तिलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोम कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताका अनुसार घटनासम्बन्धी थप अनुसन्धानका लागि शालिग्राम, जीप र संलग्न व्यक्तिहरूलाई पोखरास्थित एक्यापको प्रधान कार्यालयमा पठाइएको छ।
हिन्दू धर्मशास्त्रअनुसार शालिग्राम भगवान् विष्णुको प्रतीक मानिन्छ। विशेषगरी मुस्ताङको दामोदरकुण्ड हुँदै बग्ने कालीगण्डकी नदीमा पाइने शालिग्राम धार्मिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण मानिन्छ। तर पछिल्लो समय व्यावसायिक रूपमा यसको दोहन बढ्दै गएका कारण स्थानीय प्रशासन, प्रहरी र एक्यापले निगरानी कडा पारेका छन्।
प्रशासनले फुटकर रूपमा व्यक्तिगत श्रद्धालुले एक/दुईवटा शालिग्राम लैजान छुट दिएको भए पनि ठूलो परिमाणमा गाडीमार्फत ओसारपोसार गर्नेलाई नियन्त्रण गर्ने अभियान जारी राखिएको छ।
सडक सञ्जालको विस्तारसँगै शालिग्राम दोहन बढ्न थालेको भन्दै संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। हाल मुस्ताङमा कागबेनी, मुक्तिनाथ र जोमसोम जस्ता क्षेत्रमा फुटकर रूपमा शालिग्राम बिक्री हुँदै आइरहेका छन्, तर पर्यटक आगमनसँगै संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।