मेटालाई ७ दिनको अल्टिमेटम : दर्ता नभए प्रतिबन्ध लगाउने मन्त्री गुरुङको चेतावनी

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक र इन्स्टाग्राम सञ्चालक कम्पनी मेटालाई ७ दिनभित्र नेपालमा दर्ता हुन अन्तिम चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मेटालाई पटक–पटक आग्रह गर्दा पनि दर्ता नभएको भन्दै अब कानुनी कारबाहीको तयारीमा सरकार रहेको बताए।
हामीले पहिलो र दोस्रो सूचना पठायौं, तर मेटाले कुनै प्रतिक्रिया देखाएन, मन्त्री गुरुङले भने,तेस्रो सूचनाको म्याद पनि सकिएको छ। अब ७ दिनभित्र दर्ता भएन भने मेटामाथि प्रतिबन्ध लगाउन बाध्य हुनेछौं।
उनले नेपालबाट दैनिक ठूलो मात्रामा पैसा मेटाको मुख्यालयमा जाने भए पनि कम्पनीले यहाँ दर्ता भएर कर नतिरेको भन्दै असन्तोष व्यक्त गरे। मेटाले नेपालको कुल गार्हस्थ्य उत्पादनभन्दा धेरै आम्दानी गर्छ भन्दै घमण्ड गर्न मिल्दैन उनले भने हामी मुलुकको स्वाधीनतालाई पैसासँग साट्न सक्दैनौं।
उनले हालसम्म नेपालमा टिकटक, भाइबर र वी-टक मात्र दर्ता भएको जानकारी दिँदै अन्य बहुराष्ट्रिय सामाजिक सञ्जाल कम्पनीहरूलाई पनि कानुनको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाइने स्पष्ट पारे।
मन्त्री गुरुङको यो भनाइपछि सामाजिक सञ्जाल प्रयोगकर्ताबीच पनि चासो र बहसको विषय बनेको छ। सरकारले मेटालाई नेपालमा सेवा जारी राख्न कानुनी हैसियतमा ल्याउने तयारीलाई प्राविधिक र कूटनीतिक दृष्टिले कसरी अगाडि बढाउने हो भन्नेमा सबैको ध्यान केन्द्रित हुँदै गएको छ।