देउवाको प्रतिक्रिया : सत्ता समीकरण परिवर्तनबारे थाहा छैन

काठमाडौं – पछिल्ला दिनहरूमा नेपाली राजनीतिमा सत्तासमीकरण परिवर्तनको चर्चा तीव्र भइरहेका बेला नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उक्त बहसलाई सहजै पन्छ्याएका छन्। थाइल्यान्ड भ्रमण सकेर बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएका देउवाले सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो, थाहा छैन मलाई भन्दै कुनै राजनीतिक हलचल नरहेको दाबी गरे।
उनले सत्ता गठबन्धनमा कुनै खटपट नरहेको स्पष्ट पार्दै भने गठबन्धन जसरी पनि टिक्छ, केही भएको छैन।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारभित्र केही असन्तोषका संकेत देखिन थालेका छन्। सत्तारूढ गठबन्धनभित्रको शक्ति सन्तुलन र बदलिँदो राजनीतिक समीकरणले नेपाली कांग्रेसको समेत ध्यान तानेको बताइन्छ।
थाइल्यान्ड भ्रमणलाई लिएर देउवा कुनै नयाँ रणनीति ल्याएर फर्किएको अड्कल राजनीतिक वृत्तमा गरिएको भए पनि उनले ती सबै अड्कलहरूलाई खण्डन गरेका छन्।
हालका दिनमा देखिएको राजनीतिक सरगर्मीबीच देउवाको ‘मलाई थाहा छैन’ भन्ने टिप्पणीले कांग्रेसको आधिकारिक धारणा स्पष्ट नदेखिएको आलोचना पनि हुन थालेको छ। तर देउवाले भने सत्ता समीकरण यथास्थितिमा रहन्छ भन्ने विश्वास व्यक्त गरेका छन्।