E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

सांसद माया राई पक्राउ परे पनि पद तत्काल निलम्बन हुने छैन

काठमाडौं — नेपाली कांग्रेसकी सांसद माया राई स्वर्णलक्ष्मी सहकारीमा २ अर्ब ६५ करोड रुपैयाँ हिनामिनामा संलग्न रहेको आरोपमा शनिबार पक्राउ परेकी छन्। पक्राउको जानकारी संघीय संसद् सचिवालयमा पुगेको छ र आइतबार सभामुख देवराज घिमिरेले सो सूचना प्रतिनिधि सभामा प्रस्तुत गर्दै छन्।

सांसद राई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सदस्यको हैसियतले आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म कार्यरत थिइन्। सो अवधिमा सहकारीको ठूलो परिमाणको रकम हिनामिना भएको अभियोगमा प्रहरी अनुसन्धान भइरहेको छ। यस प्रकरणमा केही अभियुक्तविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ भने सांसद राई फरार रहेका बेला शनिबार पक्राउ परेकी हुन्।

सांसद राईको गिरफ्तारीपछि संघीय संसद् सचिवालयले सो कुराको पुष्टि गर्दै आवश्यक प्रक्रिया नियमावली अनुसार अघि बढाउने बताएको छ। सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले भने, “पक्राउ परेको सूचना प्राप्त भएको छ, अब नियमावलीअनुसार प्रक्रिया अघि बढ्छ।”

प्रतिनिधि सभा नियमावलीको नियम २४८ अनुसार कुनै सदस्य पक्राउ परेमा त्यसको जानकारी सभामुखले सदनलाई दिनुपर्नेछ। बैठक नभएको अवस्थामा पार्टी कार्यालयमा सूचना टाँस गर्नुपर्ने प्रावधान रहेको छ भने बैठक जारी रहेको अवस्थामा सभामै सुनाउनुपर्ने उल्लेख छ।

यद्यपि, सांसद राईको सांसद पद तत्काल निलम्बन हुने छैन। नियमावलीअनुसार कुनै सदस्य तीन वर्ष वा सोभन्दा बढी सजाय हुने वा नैतिक पतन देखिने फौजदारी अभियोगमा पुर्पक्ष थुनामा परेमा मात्र निलम्बन हुने व्यवस्था छ। हाल माया राईको नाम अभियोगपत्रमा नराखिएको र उनी पुर्पक्ष थुनामा नरहेको अवस्थामा उनी स्वतः निलम्बनमा पर्ने छैनन्।

यदि अदालतको फैसलाले दोषी ठहरिएर कैदको सजाय सुनाइएमा मात्र उनी स्वतः निलम्बन हुने व्यवस्था रहेको छ। त्यस्तै, यदि सफाइ पाएमा वा थुना मुक्त भएमा निलम्बन फुकुवा हुने जानकारी सभामुखले सदनमा गराउनुपर्ने व्यवस्था पनि नियमावलीमा उल्लेख गरिएको छ।

हाल प्रहरी अनुसन्धान जारी छ र सरकारी वकिलको कार्यालयले माया राईको नाम नराखीकन नै अभियोग अघि बढाएको बताइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेकाले आगामी दिनमा राजनीतिक र कानुनी दृष्टिकोणले यो मुद्दा थप चासोको विषय बन्ने देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!