हमासद्वारा इजरायलको युद्धविराम प्रस्ताव अस्वीकार युद्ध अन्त्यको माग दोहोर्यायो

गाजा – इजरायलले अगाडि सारेको नयाँ युद्धविराम प्रस्तावलाई हमासले औपचारिक रूपमा अस्वीकार गरेको छ। हमासले स्पष्ट रूपमा भनिएको छ कि उनीहरू युद्धको पूर्ण अन्त्य र सबै प्यालेस्टिनी बन्दीहरूको रिहाइको सर्तमा मात्र सम्झौतामा तयार हुनेछन्।
बीबीसीका अनुसार, हमासका प्रमुख वार्ताकार खलील अल-हय्याले एक भिडियो सन्देशमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका छन्। उनले सन्देशमा भनेका छन् हामी त्यस्तो कुनै पनि सम्झौता स्वीकार गर्नेछैनौं जसले इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूको राजनीतिक एजेन्डा पूरा गर्छ।
इजरायलले प्रस्ताव गरेको नयाँ योजनाअनुसार ४५ दिनको युद्धविरामको सट्टा १० जना इजरायली बन्धकहरूको रिहाइ गरिनुपर्ने थियो। तर हमासले उक्त प्रस्तावलाई पर्याप्त नठानी अस्वीकार गरेको हो।
यसैबीच हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले केही घण्टा अघि इजरायली हवाई आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको जानकारी दिएको छ। घटनाबारे इजरायली सेनाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
इजरायल र हमासबीचको यो पछिल्लो असहमति पुनः द्वन्द्व उत्कर्षतिर उन्मुख हुन सक्ने संकेतका रूपमा हेरिएको छ।