कैलालीमा बेलायती नागरिक मृत अवस्थामा फेला

कैलाली – कैलालीको बर्दगोरिया गाउँपालिका–४ नोमाबोजीमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। मृतक बेलायतका ६५ वर्षीय स्टेफन गोर हुन्।
प्रहरीका अनुसार गोर गत कार्तिक महिनादेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बस्दै आएका थिए। बिहीबार राति करिब साढे ९ बजेतिर उनी आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
गोरले भित्रबाट ढोकाको चुक्कुल लगाएर सुतिरहेको र लामो समयसम्म ढोका नखुलेपछि शंका उत्पन्न भएको थियो। त्यसपछि त्यही घरमा बस्दै आएकी भारतको तामिलनाडु घर भएकी नेपाली मूलकी चित्रा कुमारी बमले ढोका खोलेर हेर्दा गोर मृत अवस्थामा भेटिएको कैलाली प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धान अनुसार उनी पर्यटक भिसामा नेपाल आएका थिए। घटनाको कारण खुल्न नसकेकाले थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।
गोरको शव पोष्टमार्टमका लागि धनगढी पठाइएको छ। घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।