सप्तरीमा बस दुर्घटना दुईजनाको मृत्यु २४ बढी घाइते

सप्तरी — सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ भन्दा बढी यात्रु घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–१० बदगामा आइतबार मध्याह्न साढे १२ बजेतिर दुर्घटना भएको हो। उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
दुर्घटनामा मृत्यु हुनेमा सप्तीकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती रहेका छन्। अर्की मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
डिएसपी काफ्लेका अनुसार दुबै जना बसमा च्यापिएर गम्भीर घाइते भएका थिए। उनीहरूको उपचारका क्रममा विराटनगरको मोडेल अस्पतालमा मृत्यु भएको हो।
बसमा ३५ जना सवार रहेका थिए। गम्भीर, मध्यम तथा सामान्य गरी करिब दुई दर्जन यात्रु घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस चालक झापाको मेचिनगर नगरपालिका–७ का ४७ वर्षीय अमृत दर्जी र बस दुवैलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।