सिन्धुलीमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ९ जना घाइते

सिन्धुलीमा आज बिहान भएको एक भयानक दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। यो दुर्घटना सिन्धुलीको दुधौली नगरपालिका-४ स्थित मदनभण्डारी राजमार्गमा भएको हो, जहाँ ईभी गाडी र मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका नायव उपरीक्षक (डीएसपी) अनिलकुमार खड्काका अनुसार, मृतक व्यक्ति प्रेम रानामगर, २६ वर्षका थिए र उनी मोटरसाइकल चालक थिए। उनी मोटरसाइकलसँग ईभी गाडीको ठक्कर खाँदा गम्भीर घाइते भएका थिए र उपचारका क्रममा नगरअस्पताल सिर्थौलीमा उनको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ९ जना ईभी गाडीमा सवार रहेका थिए। घाइतेहरुको नामावली र अवस्था यस प्रकार छ:
1. रुक्मा बस्नेत (उदयपुर त्रियुगा नगरपालिका-११), ४३ वर्ष – टाउकोमा चोट, अवस्था मध्यम।
2. रोशनी माया तामाङ (उदयपुर लालपत्ता गा.पा.-६), २९ वर्ष – दुबै खुट्टा र ढाडमा चोट, अवस्था मध्यम (१०:३५ मा ट्रमा सेन्टर, काठमाडौं रिफर)।
3. सकुन्तला बस्नेत (उदयपुर त्रियुगा नगरपालिका-१०), ७० वर्ष – दुबै खुट्टा र बाँया हातमा चोट, अवस्था सामान्य।
4. आकृत खड्का (सिन्धुली ऐ. ऐ. ११), १६ वर्ष – टाउकोमा चोट, अवस्था सामान्य।
5. तारा बि.क. (सिन्धुली ऐ. ऐ. ६), ३५ वर्ष – दुबै खुट्टा र दाहिने हातमा चोट, अवस्था मध्यम।
6. बिन्दा कटुवाल (सिन्धुली ऐ. ऐ. ११), ३७ वर्ष – टाउको, दुबै हात र खुट्टामा चोट, अवस्था मध्यम।
7. सिजु राउत (सिन्धुली ऐ. ऐ.), ७ वर्ष – बाँया खुट्टामा चोट, अवस्था सामान्य।
8. योन्जन खड्का (उदयपुर रौतामाई गा.पा.-२), १७ वर्ष – ढाडमा चोट, अवस्था सामान्य।
9. चुडा कुमारी मिश्र (सिन्धुली दुधौली नगरपालिका-८), ४८ वर्ष – दुबै खुट्टामा चोट, अवस्था सामान्य।
दुर्घटनामा संलग्न ईभी गाडीको चालक, वीरेन्द्रकुमार बस्नेत, ३८ वर्ष, उदयपुर त्रियुगा नगरपालिका-६ का निवासीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।