बैतडीमा जीप दुर्घटना ४ जना घाइते, एकको अवस्था गम्भीर

बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ देहिमाण्डौबाट गिरेगडा तर्फ जाँदै गरेको बोलेरो जीप बि.ए.सी ५६५९ शुक्रबार (आज) राति पौने ९ बजे दशरथचन्द नगरपालिका ११ को नानीगाड भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार जीप दुर्घटनामा परी पंञ्चेश्वर गाउँपालिका–६ का ३५ वर्षीय चालक राकेस कोली, ५२ वर्षीय लालीराम कोली, पंञ्चेश्वर गाउँपालिका वडा ५ का ५४ वर्षीय चन्चले दयाल तथा दशरथचन्द नगरपालिका १० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएका छन्।
घाइतेमध्ये चन्चले दयालको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।
प्रहरीका अनुसार जीप सडकबाट करिब ४० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।