दर्ता नगरे फेसबुकलगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध: मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए सामाजिक सञ्जाल प्ल्याटफर्महरू — जस्तै फेसबुक —माथि प्रतिबन्ध लगाउने स्पष्ट पारेका छन्।
शुक्रबार राजधानीमा सञ्चारिका समूह नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालहरूले मुलुकको कानुन र नियम पालन गर्नुपर्ने बताए।
एक महिना पुग्न दुई–तीन दिन बाँकी छ, तर कोही पनि आउँदैन, मन्त्री गुरुङले भने, सरकारलाई नै टेर्दैनन्। यसपटक सरकारले कडाइका साथ कार्यान्वयन गर्छ।
उनले सामाजिक सञ्जालसम्बन्धी कानुन कुनै माध्यम बन्द गर्न नभई नियमन गर्न ल्याइएको उल्लेख गरे।
त्यस्तै, मन्त्री गुरुङले चैत्र १५ गते राजधानीमा राजावादीहरूले गरेको आन्दोलनलाई प्रतिगामी र संविधानविपरीतको गतिविधि भएको बताए। “संविधानविपरीतको कार्य गर्दा शान्तिपूर्ण भेला पनि हिंसामा परिणत भयो,” उनले भने, “त्यसमा संलग्न सबैलाई कानुनी कारबाही हुनेछ।”
प्रविधिको दुरुपयोग गरेर देश, राजनीतिक दल तथा जनतालाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै उनले सरकार यसमा गम्भीर भएर कदम चालिरहेको बताए।
महाधिवेशनका अवसरमा सञ्चारिका अग्रणी सम्मान पत्रकार उषा लोहनी र डा. हरिकला अधिकारीलाई प्रदान गरियो। सञ्चारिका समानता पुरस्कार धनु विश्वकर्मालाई तथा स्व. उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार सपना कुमारी कर्णलाई प्रदान गरिएको छ।