E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

धवलशमशेर जबरा हिरासतबाट उपचारका लागि रिहा हुँदै

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा महामन्त्री धवलशमशेर जबरा उपचारका लागि हिरासतबाट अस्थायी रूपमा रिहा हुने भएका छन्। गृह मन्त्रालय स्रोतका अनुसार उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उपचारका लागि रिहा गर्ने तयारी गरिएको हो।

गृह मन्त्रालयका एक स्रोतले जानकारी दिँदै भने, अहिले उहाँलाई उपचारका लागि छाड्न लागिएको हो। उपचारपछि उहाँलाई पुनः कानुनी प्रक्रियामा ल्याउने तयारी गरिएको छ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादी प्रदर्शन हिंसात्मक बनेपछि राणालाई प्रहरीले पक्राउ गरेको थियो। उनीसँगै राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र पनि पक्राउ परेका थिए। उक्त प्रदर्शनका क्रममा घर–जग्गा तोडफोड, आगजनीजस्ता घटना भएका थिए भने कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।

धवलशमशेर जबरा क्यान्सर सर्भाइभर हुन्। उनले करिब तीन महिना भारतको मुम्बईस्थित टाटा क्यान्सर अस्पतालमा उपचार गराएका थिए र यस वर्षको पुस दोस्रो साता मात्र नेपाल फर्किएका थिए। सामाजिक सञ्जालमार्फत उनले आफू निको भएको जानकारी दिँदै आगामी राजनीतिक क्रियाकलापमा सक्रिय रहने बताएका थिए।

तर प्रदर्शनपछिको पक्राउ र हिरासतका कारण उनको स्वास्थ्य अवस्थाको विषयमा चासो बढ्दै गएको थियो। संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले उनलाई भारतमा फलोअप उपचारका लागि जान नदिएकोमा आपत्ति जनाउँदै शुक्रबार विज्ञप्ति समेत जारी गरेका थिए।

धवलशमशेरविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ अन्तर्गतको दफा ५० अनुसार ‘राजद्रोह’ र संगठित अपराध अन्तर्गत अनुसन्धान भइरहेको छ। उक्त कानुन अनुसार, संविधानिक संरचनालाई पल्टाउने नियतले गरिएको षड्यन्त्र वा बल प्रयोग राजद्रोहको श्रेणीमा पर्छ र दोषी ठहर भएमा २५ वर्षसम्म कैद सजाय हुन सक्छ।

हाल जिल्ला सरकारी वकिलको कार्यालयमा राणाको बयान लिने काम भइरहेको छ। स्वास्थ्य उपचारपछि उनी पुनः कानुनी दायरामा ल्याइने गृह स्रोतले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!