शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकको प्रदर्शन आज पनि जारी

काठमाडौं — विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरूले आज पनि काठमाडौंको माइतीघर–नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्। माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वरतर्फ अघि बढिरहेको छ।
शिक्षकहरूले अघिल्ला दिनहरूमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए। तर आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनलाई ध्यानमा राख्दै उनीहरूले प्रदर्शनको समय बिहान सारेका छन्। आजको प्रदर्शन बिहान ९ बजेदेखि १२ बजेसम्म सीमित गरिएको छ। राप्रपाले बिहान ११ बजेदेखि बिजुली बजार क्षेत्रमा भेला हुने जनाएपछि शिक्षकहरूले समय घटाएर प्रदर्शन गर्न थालेका हुन्।
शिक्षकहरूले गत चैत २० गतेदेखि माइतीघर–बानेश्वर क्षेत्रमा लगातार प्रदर्शन गर्दै आएका छन्। सरकारले वार्ता गर्ने प्रयास गरे पनि विद्यालय शिक्षा ऐनको मस्यौदा र कार्यान्वयनको विषयमा सहमति जुट्न नसकेपछि उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेका थिए। हड्तालका कारण देशभरका अधिकांश विद्यालयमा पठनपाठन ठप्प भएको छ।
प्रदर्शनका कारण माइतीघर–बानेश्वर सडकखण्डमा आज पनि सवारी आवागमनमा अवरोध भएको छ। प्रदर्शन शान्तिपूर्ण ढंगले भइरहेको भए पनि सडकमा लामो जाम देखिएको छ।