E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

रास्वपा सभापति रवि लामिछाने पक्राउ, कार्यवाहक सभापति डीपी अर्यालको जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन्। लामिछाने पक्राउ परेपछि हिजो राति पार्टीको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनेकै निर्णय गरेको हो।

बैठकले अदालत र संविधानको पूर्ण सम्मान गर्दै, अदालतको निर्णयका आधारमा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ। यसका साथै, पार्टीले चितवनको भरतपुरमा आयोजना हुने सभा शान्त र सौम्य बनाउनका लागि निर्देशन दिएको छ। बैठकले पार्टीका सबै सदस्यहरूलाई सचेत र संयमित रहन सचेत गराएको छ ताकि कुनै प्रकारको घुसपैठ वा बिथोल्ने प्रयासहरू रोक्न सकियोस्।

लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी रकम ठगी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। यस निर्णयपछि लामिछानेलाई गएराति काठमाडौंको बूढानीलकण्ठ स्थित हेपाली हाइटबाट पक्राउ गरिएको हो। आज उनलाई रुपन्देही कारागार लगिँदैछ। लामिछानेको थुनामा पठाउने आदेश उच्च अदालतको सुनुवाइपछि भएको हो।

सुप्रिम सहकारी प्रकरणमा लामिछानेको भूमिका संदिग्ध रहेको कारण उनलाई उच्च अदालतले थुनामा पठाउने आदेश दिएको हो। जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड रुपैयाँ धरौटी माग गरेको थियो, तर लामिछानेले साधारण तारेखमा छुट्ने माग गरेका थिए। उच्च अदालतले उक्त धरौटी आदेशलाई खारेज गर्दै थुनामा पठाउने निर्णय गरेको हो।

लामिछानेको बयान उच्च अदालतले ‘पत्यारलाग्दो नदेखिएको’ भनेर अस्वीकार गरेको थियो। यस घटनाले रास्वपा र लामिछानेका समर्थकहरूमा उत्सुकता र चिन्ता उत्पन्न गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!