खेलदेशशीर्ष समाचार

यू–१९ विश्वकप एसिया छनोटमा नेपालको तेस्रो जित

काठमाडौं – नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा शानदार प्रदर्शन जारी राख्दै लगातार तेस्रो जित हात पारेको छ। बुधबार तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले हङकङलाई ९ विकेटले सजिलै पराजित गरेको हो।

हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका ओपनर साहिल पटेलले ४२ रनको आक्रामक इनिङ्स खेले भने कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे। तेस्रो नम्बरमा आएका निरज यादवले २३ रनको योगदान दिएका थिए।

टस जितेर ब्याटिङ रोजेको हङकङको सुरुवात कमजोर रह्यो। १० रनमै पहिलो विकेट गुमाएको टोलीले केही समय स्थिर प्रदर्शन गरेपनि ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमै समेटियो। हङकङका शिव माथुरले सर्वाधिक ६३ रन बनाएका थिए। आर्या पन्जवानीले १३ र वीर माथुरले १२ रन जोडे।

नेपालका बलरहरू प्रभावशाली रहे। युवराज खत्रीले १० ओभरमा मात्र १८ रन खर्चिएर ४ विकेट लिए। बिपिन प्रसाद शर्माले ६.२ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएका थिए भने सन्तोष यादवले २ र अशोक धामीले १ विकेट हात पारे।

यसअघि नेपालले युएई र ओमानलाई पराजित गरिसकेको छ। अब नेपालले शनिबार अफगानिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ। अफगानिस्तान पनि अपराजित छ र आज युएईसँग खेल्दै ३५९ रनको विशाल योगफल बनाएको छ।

यदि अफगानिस्तानले युएईलाई हरायो भने, शनिबार हुने नेपाल र अफगानिस्तानबीचको खेल निर्णायक बन्नेछ। उक्त खेलको विजेता टोली यू–१९ विश्वकपमा स्थान सुरक्षित गर्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!