E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

वैदेशिक रोजगारीबाट फर्किएका युवकसँग दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाहीमा

काठमाडौं – वैदेशिक रोजगारीबाट बिदामा फर्किएका एक युवामाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्व्यवहार गरेको आरोपमा संलग्न तीन जना प्रहरीलाई कारबाही गरिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार घटनामा संलग्न तीन प्रहरीलाई विमानस्थल सुरक्षाबाट हटाइएको छ। साथै, उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान अघि बढाइएको छ।

३१ चैतमा दुबईबाट काठमाडौं आएका मोरङका सञ्जय ओझाले विमानस्थलको अध्यागमन र भन्सार प्रक्रिया पार गरेपछि दुर्व्यवहारमा परेको गुनासो गरेका थिए। ओझाले सामाजिक सञ्जाल टिकटक मा भिडियो सार्वजनिक गर्दै प्रहरीद्वारा दुर्व्यवहार भएको विवरण दिएका थिए।

उनका अनुसार, १० दिनको बिदामा काठमाडौं आएको र विमानस्थलबाहिर निस्कँदै गर्दा ट्रली बाहिर ल्याएको विषयमा एक व्यक्तिसँग विवाद भएको थियो। आफूलाई विमानस्थलकै कर्मचारी बताउने ती व्यक्तिको व्यवहार आपत्तिजनक भएकोले ओझाले प्रहरी बोलाएका थिए। तर, प्रहरी आउनासाथ उल्टै उनले दुर्व्यवहार खेप्नुपरेको आरोप लगाएका छन्।

विवाद बाहिर आएपछि सार्वजनिक चासो बढेको थियो, जसलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्दै छानबिन अघि बढाएको जनाएको छ।

प्रहरी प्रशासनले विदेशबाट फर्किएका नेपालीहरूप्रति संवेदनशील बन्नु पर्ने बताउँदै यस किसिमको घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने स्पष्ट पारेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!